नाटकको कथा खोज्दै सप्तकोसी छेउछाउ
कोसीटप्पु, सुनसरी — काठमाडौंको शिल्पी थिएटरका रंगकर्मी माघे संक्रान्तिको साँझ कोसी ब्यारेज नजिक ओर्लिए । कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रभित्रको एक होटलमा बास बसे । भोलिपल्ट बिहानै चतरा आसपासबाट डुंगा चढेर सप्तकोसीको पहिलो भंगालो तरे । झन्डै एक घन्टा बालुवामा हिँडेपछि कोसीको अर्को भंगालो तर्दै श्रीलंका टापु पुगे । नदी किनारमा बसेका मान्छेसँग भलाकुसारी गरे । सुख–दु:ख साटासाट गरेर फर्किए ।
नदी आसपासको जनजीवन हेरे, बुझे । कोसीमा आश्रित माझी परिवारसँग कुरा गरे । कोसी किनारपूर्वको मधुवन बजार गए । गाउँले र जनप्रतिनिधिका कुरा सुने । कोसी पारी सप्तरीको कञ्चनरुप नगर पनि पुगे, जहाँ मलर सदाले भोककै कारण ज्यान गुमाएका थिए । जंगली जनावारका कारण प्रताडित किसानका समस्यासँगै सेनाबाट भोग्दै आएको सास्ती सुने ।
खासमा शिल्पीको नाट्य टोली कथा खोज्दै र पात्र पहिल्याउँदै सप्तकोसी छेउछाउ पुगेको थियो । नाटक बनाउँदा भुक्तभोगीहरुलाई नभेटिकन, त्यो जीवन नबुझीकन, अनुसन्धाताहरुको कुरा नसुनिकन नाटक बनाउन सकिँदैन भन्ने मान्यता शिल्पीका कलाकारहरुको छ । त्यही मान्यताले रंगकर्मीहरुले सप्तकोसीको छेउछाउमा बिताए तीन दिन । जहाँ नदी आसपासको जनजीवनसँगै पर्यावरण, चराचर जगतलाई पनि नजिकवाट नियाले । स्थानीय चक्र तिम्सिनाले चराबारे जानकारी दिए । अभियन्ता भोला पासवानले नदी किनारको जनजीवनबारे भोगाइ सुनाए । लेखक भाष्कर शर्मा र राकेश मिश्राले पनि नदीबारे आफूले जानेका ज्ञान साटे ।
‘विषयको गहिराइ बुझन र नाटकको कथा बुन्नका लागि प्रक्रिया जरुरी हुन्छ, यसले आत्मविश्वाससँगै ज्ञान पनि दिन्छ । यही सिलसिलामा यता आएका हौं’, शिल्पीका नाट्य निर्देशक घिमिरे युवराजले सुनाए, ‘अब काठमाडौं बसेर अखबारका पाना पल्टाएर मात्रै नाटक बनाइनु हुँदैन भन्ने हामीलाई लाग्न थालेको छ ।’
शिल्पीले अघिल्लो नाटक ‘ठूला माछा साना माछा’ तयार गर्दा पनि झन्डै यही शैली अपनाएको थियो । जसकारण नाटक निकै प्रभावकारी बनेको प्रतिक्रिया आएको थियो ।
शिल्पीले केही समययता ‘कम्युनिटी थिएटर’ गरिरहेको छ । जसलाई मुक्त रंगमंच नाम दिइएको छ । यही नाट्यशैलीलाई निरन्तरता दिने योजना बनिरहँदा नयाँ नाटकको विषयका बारेमा हालै छलफल भएको थियो । मौसम परिवर्तन, पर्यावरण, नदी, पानीको समस्या, विकासका नाममा नदीमाथिको दोहन जस्ता विषय छलफलमा आयो ।
प्रतिकृया दिनुहोस